

लेफ्टिनेन्ट कर्णेल भुजेलको कमाण्डमा २६७ शान्ति सैनिक कंगो प्रस्थान

काठमाडाैं । नेपाली सेनाले मध्य अफ्रिकी मुलुक कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदली-बदली गरेको छ।
आइतबार २६७ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी गोविन्द भुजेलको नेतृत्वमा काठमाडौंबाट मिशन इलाकातर्फ प्रस्थान गरेका हुन्।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघको स्थायित्व मिशन (मोनुस्को) मा तैनाथ फष्ट राइफल गण २८औं डफ्फालाई बदली गर्न नरसिंहदल गण २९औं डफ्फाको पहिलो टोली प्रमुख सेनानी भुजेलको नेतृत्वमा कंगो गएका हुन्।
साथै उक्त मिशनमा तैनाथ फष्ट राईफल गण २८औं डफ्फाको पहिलो टोलीका २५५ जना नेपाली शान्ति सैनिकहरू सेनानी डम्बरसिंह ठकुरीको नेतृत्वमा मंगलबार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले द्वन्द्वग्रस्त विभिन्न मुलुकमा खटिएर शान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान दिँदै आएको छ।
राष्ट्रसंघीय शान्ति मिशनमा योगदान गर्ने देशहरूको रोलक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ।