

गण्डकी प्रदेशसभामा दोस्रोपटक दिपक मनांगेको प्रवेश पक्का !
स्वतन्त्रका दोर्जे लामा गुरूङले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित

लमजुङ । राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनांगे निर्विरोध हुने भएका हुन् ।
उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्मको समय तोकेको छ । त्यसैले मनांगे निर्विरोध भएको सूचना आयोगले ३ बजेपछि मात्र सार्वजनिक गर्ने भएको छ । मनांगे गण्डकीका युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।
तर, पछि मनांगेकै कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्न पुग्यो । उनी सत्तारुढ गठबन्धनमा सामेल भए । यसपटक मनांगेलाई कांग्रेस र एमाले दुवै दलले समर्थन गरेर आफ्नो उम्मेदवार नउठाएकैले उनी निर्विरोध हुन लागेका हुन् ।
दोर्जे लामा गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।