

सैनिक सेवा नियमावलीमा पाँचौं संशोधन, बढुवाका नियममा केही खुकुलोपन

काठमाडाैं । रक्षा मन्त्रालयले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको अनुरोधमा सैनिक सेवा नियमावली-२०६९ मा पाँचौ संशोधन गरेको छ ।
रक्षा मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएर सोमबारको मितिमा संशोधनसहितको नियमावली राजपत्रमा प्रकाशित भएको छ ।
सैनिक सेवा नियमावलीमा भएको संशोधनसँगै बढुवा प्रयोजनका लागि आवश्यक तालिम र शैक्षिक योग्यता हेरफेर भएको छ । नियमावलीमा रहेका केही व्यवस्थाहरु झिकिएका छन् । यस्तै केही अनूसूची समेत हेरफेर भएको छ ।
संशोधनसँगै युनिट कमाण्ड तथा स्टाफ कोर्स भन्ने हटाएर अल आर्म्स कमाण्ड तथा स्टाफ कोर्स राखिएको छ । यो नियमावलीको नियम ४५ उपनियम ११ मा गरिएको संशोधन हो ।
यस्तै नियम ९७ मा संशोधनगर्दै बढुवा प्रयोजनका लागि सेवा समूह परिवर्तनको प्रावधान खुकुलो पारिएको छ ।
रक्षा मन्त्रालयले माथिल्लो तहमा बढुवाका लागि स्नातक तहको अध्ययन पुरालाई पूर्ण मान्यता समेत नियमावली संशोधन मार्फत दिएको छ ।