बाह्र पत्रकारलाई रोटरी जर्नो अवार्ड प्रदान



काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले रोटा वर्ष २०२०/२१ को रोटरी जर्नो  अवार्ड १२ जना पत्रकारलाई प्रदान गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि रोटरीले ७ प्रदेशका एक एक जना र विधागत हिसवाले ५ जना गरि बाह्र पत्रकारलाई पुरस्कृत गरेको हो ।

वातावरण, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र आर्थिक पत्रकारिताबाट एक-एक जनालाई जनही रु २५ हजार र प्रमाणपत्र प्रदान गरेको हो भने प्रत्येक प्रदेशका एक एक जना पत्रकारलाई रु २० हजार र प्रमाणपत्र प्रदान गरेको हो । शिक्षा, स्वास्थ्य, वातावरण, महिला विकास तथा आर्थिक क्षेत्रमा उनीहरुले पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै नगद राशीसहित उनीहरुलाई पुरस्कृत गरिएको हो ।

यसरी पुरस्कृत हुनेहरुमा शिक्षा पत्रकारतिाबाट गोरखापत्रका शेषकान्त पण्डित, स्वास्थ्यतर्फ स्वास्थ्य खवरका प्रविण ढकाल, वातावरणतर्फ नागरिक दैनिकका मिथिलेश यादब, अर्थतर्फ कान्तिपुर दैनिकका शरदचन्द्र भण्डारी र महिला सशक्तिकरणतर्फ दुर्गा देबकोटा पुरस्कृत भएका हुन् ।

त्यसैगरि प्रदेशतर्फवाट पुरस्कृत हुने पत्रकारहरुमा प्रदेश न १ बाट अर्जुन कुमार आर्चाय, प्रदेश २ बाट नेहा झा, बागमती प्रदेशबाट नवराज छतकुली, गण्डकी प्रदेशवाट कोपिला कंडेल, लुम्बिनी प्रदेशवाट डिलाराम भूषाल,कर्णली प्रदेशबाट सरिता चौलानी र सुदुर पश्चिम प्रदेशवाट हर्क बहादुर विक रहेका छन् ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्स्टिच्यूट, राष्ट्रिय समाचार समिति, संचारिका समूह नेपाल र रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नरहरु सम्मिलित छनौट समितिले सिफारिसमा परेका पत्रकारहरु मध्यबाट अवार्डका लागि प्रत्येक विधामा एकएक जना पत्रकार छनौट गर्ने गर्छ ।

नेपाल पत्रकार महासंघ, आर्थिक पत्रकार समाज नेपाल, नेपाल वातावरण पत्रकार समाज, शिक्षा पत्रकार समूह, नेपाल प्रेस काउन्सिल र संचारिका समूह नेपालसँग रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले जर्नो अवार्डका लागि हरेक वर्ष समन्वय गर्दै आएको छ ।

जर्नो अवार्ड समारोहका प्रमुख अतिथिका रुपमा रहेका रोटरी इन्टरनेशनल डाईरेक्टर इलेक्ट अनिरुद्र रोय चौधरीले रोटरी डिस्टिक्ट ३२९२ नेपाल भूटान र नेपाली संचारजगतविचको सम्मान, समन्वय र सहकार्य नमुना सहकार्य भएको भन्दै सेवा मार्फत बिश्व शान्ति, समझदारी, विविधिता, समावेशीता र समझदारीको लक्ष्यमा पुग्ने रोटरीको सपना साकार पार्न सञ्चार जगतको अहं भूमिका रहने बताए ।

कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भूटानका डिस्टिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले रोटरीका गतिविधीलाई आम रोटरियन तथा नन रोटरियनका विचमा पुर्याउन नेपाली पत्रकारिता जगतको भूमिका महत्वपुर्ण हुने हुँदा आम संचारमाध्यमसँग विकास र रुपान्तरणको सवालमा सहयोग तथा सहकार्य अपिल गरे ।

समाज रुपान्तरणका लागि रोटरी र संचार जगतविचको सम्बन्ध मजबुत बनोस् भन्ने भाववाट जर्नो अवार्डको परम्परा बसालिएको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले बताए । कोभिडका कारण उत्पन्न विशेष संकटका कारण आफ्नो कार्यकालको जर्नो अवार्डको कार्यक्रम विलम्ब हुन गएको पोखरेलले बताए । संसार बदल्न सक्ने तागत संचार माध्यमसँग छ भन्ने बिश्वासका साथ संचारक्षेत्रसँगको सहयर्कालाई रोटरीले विशेष प्राथमिकतामा राखेको पोखरेलको धारणा थियो ।

कार्यक्रममा उक्त रोटा वर्षका मिडिया रिलेशन सबकमिटिको चेयर भरत कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन पब्लिक इमेज कमिटिका चेयर रबि बरालले गरेका थिए । कार्यक्रमको सञ्चालन रोट्रयाक्टर मनिषा श्रेष्ठले गरेकी थिईन् ।