

८ पृतनामा तोकिए पृतनापति, कहाँ कसलाई दिइयो जिम्मेवारी ?

काठमाडौं । कमान्ड अवधारणालाई थाती राखेर पुनः पृतना संरचनामा फर्किएको नेपाली सेनाले आठै पृतनामा प्रमुख तोकेको छ। सात पृतनामा उपरथी र सुदुर पश्चिम पृतनामा सहायक रथीलाई निमित्त प्रमुख तोकेको हाे।
थोरै सेना रहने मुलुकका लागि कमान्डर अवधारणा राम्रो भए पनि निकै खर्चिलो र प्रदेश समन्वयमा समस्या हुने एक वर्षे अनुभवसहित सेना पृतना संरचनामा फर्किएको हो।
गत वर्षको साउनमा सेना कमान्डर अवधारणामा अघि बढेको थियो। गत भदौ २१ को मन्त्रिपरिषद्बाट पृतना संरचनामा फर्केको नेपाली सेनाले आफ्नो सात पृतनामा उपरथी र एकमा सहायक रथी प्रमुख तोकेको जानकारी सैन्य प्रवक्ता सहायक रथी नारायण सिलवालले दिए।
यसअघि कमाण्ड प्रमुख रहेका चार उपरथीलाई नै पृतना प्रमुखको जिम्मेवारी दिइएको छ। बाँकी चार जना नयाँ तोकिएको हो। पूर्वीपृतनाको जिम्मेवारीमा उपरथी सहदेव खड्का छन्। उनी पूर्वी कमान्डका प्रमुख थिए।
मध्य पूर्वीपृतना प्रमुखमा प्रेमध्वज अधिकारी जाने भएका छन् भने मध्यपृतनामा उपरथी होमनाथ दबाडीको जिम्मा छ।उपत्यका पृतनामा यसअघि उपत्यका कमान्डमा रहेका योगराज शर्माकाे नै निरन्तरता रहनेछ। पश्चिमपृतना बाबुराम श्रेष्ठकाे जिम्मामा छ।
उनी मध्यकमान्डको प्रमुख थिए। मध्यपश्चिमपृतना यामप्रसाद ढकाल र उत्तर पश्चिम पृतना हिरालाल जोशीको जिम्मामा छ। जाेशी पश्चिम कमान्डका प्रमुख थिए।
यस्तै सुदुरपश्चिम पृतनामा भने सहकाय रथी विजय थापालाई निमित्त प्रमुखको जिम्मेवारी तोकिएको छ। बढुवा हुने सूचीको पहिलो नम्बरमा रहेका थापा केही दिनमा नै उपरथी हुने हुनाले पनि उनलाई त्यो जिम्मेवारीमा राखिएको हुनसक्ने सैन्य स्रोतले बतायो।