

सैनिक कल्याणकारी कोषमा पुग्यो झण्डै ७० अर्ब रुपैयाँ
एक वर्षमै बढ्यो साढे ८ अर्ब नगद माैज्दात

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु ६२ अर्ब ६८ करोड ८९ पुगेको जानकारी दिइयो ।
विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख थियो । उक्त नगद मौज्दात ‘क’ वर्गका २९ वटा वाणिज्य बैंकमा रहेको छ ।
कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसङ्घीको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो । विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट कोष स्थापना गरिएको थियो ।
सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए ।
सैनिक कल्याणकारी कोषको रकम विगतमा रु ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब रु पाँच करोडमा सीमित रहेको जानकारी दिइयो । सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको छ ।