सेना पुनः पुरानै संरचनामा, अब ८ पृतना नै रहने

पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम गरी आठ पृतना रहने



काठमाडौं । नेपाली सेनाको संरचनामा परिवर्तन भएको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद बैठकले सेनामा पुरानो संरचना व्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृती दिएसँगै अब पुनः आठ वटा पृतना रहने छन् ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई कमाण्ड संरचनामा लगेका थिए । त्यसबेला सैनिक संगठनलाई समयसापेक्ष पुनरसंरचना गर्न भन्दै नदीको आधारमा पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चार वटा संरचना राखिएको थियो ।

तर हालका प्रधानसेनापति प्रभुराम शर्माले त्यसलाई उल्टाएका छन् ।  मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार अब नेपाली सेना फेरि २०७४ अघिकै संरचनामा जाने छ । जसअनुसार पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतना रहने छन् । तर तीन जोड एक कमाण्ड संरचना पनि तत्काललाई यथावत रहने भनिएको छ ।

सरकारका अन्य निकायहरुसँगको समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै सेनालाई पुरानै संरचनामा लगिएको सैनिक स्रोतले बतायो ।

तीन जोड एक संरचना २०७८ असार १ गतेदेखि लागू भएको थियो । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको पुनर्संचना गर्दा २०६९ सालदेखिकै सांगठिनक संरचनालाई तीन चरणमा सुधार गर्ने योजना र २०७१ को नेपाली सेनाको पुनरढाँचाकै निरन्तरता स्वरुप यो निर्णय गरेको थिए ।