

सत्ता गठबन्धन अझै अन्याैलमै, अहिले ८ बजे ‘अन्तिम’ बैठक बस्दै

काठमाडौं।सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक अहिले बिहान ८ बजे पुन; बस्ने नेताहरूले बताएका छन् ।
अहिले बस्ने बैठकमा सिट बाँडफाँटका लागि निर्णयमा पुग्ने बताउँदै यही बैठक नै सिट बाँडफाँटकै लागि भने अन्तिम बैठक बनाउने गठबन्धनका एक नेताले बताए ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।
शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर शनिबार पनि सहमति जुट्न सकेन ।
यसबाट दलहरू असमञ्जसमा परेका देखिएका छन् । गठबन्धन गर्ने कि नगर्ने भन्ने दोधारमा नेताहरू परेका देखिन्छन् । एकातिर नेपाली कांग्रेसलाइ कम्तीमा १०० सिट लिनुपर्ने दबाब छ भने अर्कोतिर माओवादी जसरी पनि आफूले कम्तीमा ६० सिट पाउनुपर्ने दाबी गरिरहेको छ । त्यस्तै कुनै जनाधार नभएको र एकल उम्मेदवार भएको खण्डमा कुनै पनि नेताको सम्भावना नभएको नेकपा एकीकृत समाजवादीले ४० सिटको दाबी गरिरहँदा सत्ता नेतृत्व गरेको कांग्रेसलाई पनि समस्या परेको देखिएको छ ।