

पूर्व आईजी शाहका नजरमा नेता गिरी, ‘सबैलाई मन्त्रमुग्ध पार्नसक्ने अद्वितीय कलाका प्रखरवक्ता’

काठमाडौं — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको ७५ वर्षको उमेरमा शनिबार साँझ निधन भयो । चिन्तक र विश्लेषकका रुपमा परिचित नेता गिरीको निधनले नेपाली कांग्रेस मात्र नभई आम नेपालीहरु नै शोकमा डुबेका छन् ।
लामो राजनीतिक जीवनकालमा गिरीसँग हजारौंको संगत भयो अनि लाखौंका प्रेरणाका स्रोत ।
निधन पछि पूर्व प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले आफूले गिरीलाई पहिलोपटक विराटनगरमा भेट भएको बताएका छन् । शाहले गिरीलाई अद्वितीय कला भएको प्रखर वक्ताको रुपमा चित्रण गरेका छन् । उनले गिरी सबैलाई मन्त्रमुग्ध पार्ने शक्ति भएका नेताको रुपमा चिनेको बताएका छन् ।
शाह सामाजिक सञ्जालमार्फत गिरीप्रति श्रद्धाञ्जली दिँदै लेख्छन्—
म विराटनगरमा कार्यरत थिएँ । नेपाली राजनीतिका ज्यादै थोरै दूर्लभ पात्र मध्य एक श्रध्दय प्रदीप गिरीसंग पहिलो संविधानसभाको चुनाव ताका विराटनगरमा आयोजित एउटा कार्यक्रममा पहिलो भेट भएको थियो ।
त्यही कार्यक्रममा “Police को शिकायत धेरै नै आइ रहन्छ, किन होला DIG साहव” भन्नु भयो । मैले “Grassroot level मा र त्यो पनि जनताको प्राय हरेक समस्या संग जोडिएको हुनाले शिकायत ऑउछ । नराम्रो काम गर्दा त शिकायत त्यसै आउने भयो, कहिलेकॉही राम्रो काम गर्दा गर्दै पनि चित्त नबुझ्ने पक्षले शिकायत गरि रहन्छन” भनेपछि उहॉ अलमलिएको जस्तो देखिनु भयो ।
सत्ता र शक्ति प्रति कहिल्यै आशक्ति नदेखाउनु भएको उहॉ जस्तो ब्यक्तित्व ब्यवहारिक विषयमा कहिलेकॉही अल्मलिनु पनि स्वभाविक जस्तो लागेर हॉसेर फेरी भने, “सर जस्तो ब्यक्तित्व हामीले पनि एक पटक गृहमंत्रीको रुपमा पाउनु पर्यो नि । ” उहॉ केही बोल्नु भएन, हॉस्दै प्रसंग बदल्नु भयो ।
त्यसपछि उहॉसंग एकै पटक दोश्रो संविधानसभाको ६०१ को भीडमा संसद भवनमा भेट भयो । करीब ४ बर्ष एकै ठॉउमा भएपनि विरलै भेट हुन्थयो । भेट भएको अवस्थामा म नमस्कार गर्थे, उहॉ फर्काउनु हुन्थ्यो ।
६०१ को भारीभरकम संविधानसभामा ६/७ जना मात्र यस्ता ब्यक्ति थिए, जसलाई सुन्न सभासदहरु लालायित रहन्थे । त्यही ६/७ जना मध्य पनि प्रदीप गिरी १ नं मा पर्नु हुन्थ्यो । अरु बेला कोरम पुग्न गाह्रो हुने, उहॉले बोल्ने भनेपछि संसद हल टनाटन भरिन्थ्यो । संविधानसभाका अध्यक्ष एबं सभामुखलाई पनि उहॉले बोल्ने दिन कोरम नपुग्ने चिन्ता हुंदैन थियो जस्तो लाग्छ ।
आफ्नो अनुभव र ज्ञानलाई कुनैपनि बिषय बस्तुसंग जोडेर प्रस्तुत गर्ने उहॉको कला अद्वितीय थियो, सबै दलका सांसदहरु उहॉलाई मन्त्रमुग्ध भएर सुन्दथे । कोही सॉसद निदाउँदैन थिए, हाज़िर गरेर कोही पनि भाग्दैन थिए । उहॉले बोलेको सुनेपछि संसद भन्ने ठॉउ उहॉहरु जस्तै ब्यक्तित्वको निम्ति बनाइएको हुनु पर्छ भन्ने लाग्दथ्यो ।
राजनैतिक अवस्थाले गर्दा जहिले पनि अप्ठेरो परिस्थितिमै बॉचिरहनु पर्ने नियती बोकेको हाम्रो देशमा उहॉ जस्तो सत्ता र शक्ति प्रति आशक्ति नभएको दार्शनिक, समाजवादी चिन्तक, प्रखर वक्ताको सदैव अभाव महशुश भैरहने छ । स्व. प्रदीप गिरीज्यू प्रति भावपूर्ण श्रध्दासुमन अर्पण गर्दछु |