

जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकहरूलाई जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाई जनताले सुविधाको अनुभुत गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
सोमबारदेखि ललितपुरमा सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा उनले जनप्रतिनिधिकै कामले पार्टीको लोकप्रियता बचाउने विश्वाश व्यक्त गर्दै आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताए । उनले भने, ‘स्थानीय तह निर्वाचनबाट हामी बलियो भएका छौं । अब हाम्रो ध्यान मंसिर ४ को संघीय र प्रदेश निर्वाचनमा छ । पहिलो पार्टी बन्छ भनेर हामी लाग्नुपर्छ, त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
२०७४ सालमा गठबन्धनसँग एक्लै लडेर पराजित भएको स्मरण गर्दै अहिले आफ्नै बलियो गठबन्धन रहेको बताए । उनले अब कति ठाउँमा जित्छौं भन्ने महत्त्वपूर्ण हुने र सोही अनुसार भेदभाव नगरी मिलाएर लैजाने बताए । उनले यसपटक गठबन्धन पनि लागु हुने र टिकट वितरण न्यायबद्ध हुने बताए । उनले भने, ‘कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’