प्रसिद्ध तीर्थस्थल अमरनाथ क्षेत्रमा भीषण बाढी, १६ तीर्थयात्रीको मृत्यु, ४० भन्दा बढी बेपत्ता



कश्मिर । भारतको जम्मु कश्मिरस्थित धार्मिक तीर्थस्थल अमरनाथ नजिकै आएको बाढीमा परी १६ तीर्थयात्रीको ज्यान गएको छ ।

शुक्रबार साँझ आएको बाढीबाट कयौं श्रद्धालुभक्तजनहरुलाई बगाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा परी अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको र ४० जनाभन्दा बढी बेपत्ता भएको जनाइएको छ ।

त्यस्तै घटनामा परी ४५ जना घाइते भएको जनाइएको छ । शुक्रबार साँझको घटना भएको हुनाले रातीको समयमा उद्धार कार्यमा समस्या देखिएपछि घटनामा हताहतीको संख्या अझै बढ्न सक्ने देखिएको छ । आज बिहानैदेखि उक्त क्षेत्रमा हेलिकोप्टरसहित भारतीय सैनिकले खोजी र उद्धारकार्य सुरु गरिसकेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले उक्त क्षेत्रमा ट्राफिक प्रहरीले अलर्टको घोषणा गरेको छ ।