जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार, अवस्था ‘निकै गम्भीर’



टोकियो । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ।

नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो।

गोली लागेपछि उनी ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा” भएको बताएका छन्।