

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि बताए ।
एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधबारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार गरेको थियो ।