

अर्थमन्त्री शर्मामाथि छानबिनका लागि यी ११ ले पाए जिम्मेवारी

काठमाडौं । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका अर्थ मन्त्री जनार्दन शर्मामाथि छानबिन हुने भएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्सीय संसदीय विशेष समिति छानबिन समितिको घोषणा गरेका छन् ।
उक्त समितिमा खगराज अधिकारी, पुष्पा भुसाल गौतम, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मण लाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन् ।
सो समितिलाई कार्यावधि १० दिनको समय दिइएको छ । काम प्रारम्भ गरेको दिनदेखि कार्यावधि दिन गणना हुने सभामुख सापकोटाले जानकारी दिए ।
बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपमाथि छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ ।