

८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला

वर्लिन । जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो ।
उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।
करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्निनियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए ।
उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो । उनलाई कुन चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ । सुक्ष्म रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ ।