

धरान मेयर साम्पाङको अर्को ‘जनमैत्री’ निर्णय !
जन्म दर्ता, विवाह दर्ता र मृत्युदर्ता ३५ दिनभित्र निःशुल्क

धरान । धरान उपमहानगरपालिकाले जन्म दर्ता, बिवाह दर्ता र मृत्यु दर्ता निःशुल्क गराउने भएको छ । स्थानीय तहमा वडा कार्यालयले गर्दै आएको पञ्जीकरण प्रणालीलाई चुस्त दुरुस्त पार्ने गरी नगरप्रमुख हर्क साम्पाङले उपमहानगरपालिकाले ३५ दिनभित्र दर्ता गराउनेलाई कुनै रकम नलाग्ने घोषणा गरेका छन् ।
उनले आफूले गरेका हरेक कामहरु सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आएका छन् । उनले यस निर्णय पनि सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।
स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएर नगरप्रमुखमा विजयी साम्पाङ पछिल्ला समय धरानका आम जनताको हितमा काम गर्दै आइरहेका छन् । धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानीको समस्या, फोहोरलगायतका समस्यालाई चुनावी मुद्दा बनाएर मैदानमा आएका साम्पाङको यो पछिल्लो निर्णय जनमानसलाई प्रत्यक्ष प्रभाव पार्ने रहेको छ ।
स्वच्छ धरानका लागि अभियान चलाएका नगरप्रमुख साम्पाङले एकपछि अर्को जनमुखी निर्णय गर्दै आएका छन् ।