लिङ्देन नेतृत्वकै मूल राप्रपामा फर्किए उद्धव पौडेल र चन्द्रबहादर गुरुङ



काठमाडौं । पार्टी विभाजनपछि कमल थापा नेतृत्वको राप्रपा नेपालमा लागेका दुई नेता राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन् । गत वैशाखमा थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका हुन् ।

उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गरेका छन्।

राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा पौडेल र गुरूङले साथ दिएका थिए। राप्रपा नेपालमा पौडेल उपाध्यक्ष र गुरूङ कोषाध्यक्ष थिए।

उनीहरूले केही समयअघि राप्रपा नेपालका अध्यक्ष थापालाई साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका थिए।

पौडेल र गुरूङलाई राप्रपाले कुन जिम्मेवारी दिन्छ भन्ने खुलिसकेको छैन।

‘राप्रपामा उहाँहरूको पुनरागमनले हामी हर्षित र उत्साहित छौं,’ अध्यक्ष लिङ्देनले भने।