यस्तो छ भरतपुर महानगर मेयर रेणुको व्यक्तिचित्र !



काठमाडौं – भरतपुर महानगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी रेनु दाहाल निर्वाचित भएकी छन्। झट्ट हेर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी भनेर चिनिएता पनि नेतृ दाहालको आफ्नै राजनीतिक र सामाजिक यात्रा छ ।

बुबा प्रचण्ड र माता सीताको कोखबाट दोस्री सन्तानको रुपमा २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भिमसेनगरमा जन्मिएकी दाहालले जनयुद्धको कारण बुवाआमासँगै घर छाड्न पर्दा एसएलसीभन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाईनन्। युद्धकालिन समयमा आमाबुवासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा जानु परेकाले औपचारिक शिक्षालाई निरन्तरता दिइन पाइनन् ।

युद्धकै समयमा प्रवास भारतमै रहदा गुल्मीका अनिल कुमार पाठकसँग बिबाह गरेकी दाहालका दुई सन्तान छन् ।

नेपाली, हिन्दी, अंग्रेजी र थारु भाषामा समेत दख्खल दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन्। युद्दकालिन समयमा भारतका विभिन्न प्रान्तमा सेक्रेटरीको भूमिका निर्वाहा गरेकी दाहाल हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् ।

दाहाल २०६१ देखि ०६३ सम्म रोल्पाको पार्टी सह–इन्चार्ज समेत भएकी थिईन् । त्यसपछि २०६४ देखि २०६९ सम्म संबिधानसभा सदस्य रहेकी थिइन्। २०७४ मा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य रहेकी दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव समेत हुन् ।

काठमाडौंमा पार्टीको सेक्रेटरी भएर काम गरेकी दाहाल संगठन निर्माणमा अब्बल मानिन्छन् । अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा प्रवासमा रही संगठन निर्माण गर्दा उनी माओबादी आन्दोलनभित्र र बाहिर निकै चर्चित थिईन्।

देशको बिकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन्। जो संग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासंग प्रभावित हुन्छ नै। उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो महिला महानगर प्रमुखका रुपमा निर्वाचित दाहालले ५ वर्षको कार्यकालपछि पुनः दोहोरिएकी हुन् । गएको पाँच बर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा १२ हजार ४४९ मतान्तरसहित जित हात पार्दै दोस्रो पटक भरतपुरको नेतृत्व गर्न सफल भएकी छिन् ।