

ब्रह्म, विवेक र चेतनाले भ्याइन्जेल जनताको पक्षमा काम गर्छुः अध्यक्ष सुनारी

नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले गाउँपालिकाको कार्यभार सम्हालेका छन् । सोमबार एक विशेष कार्यक्रमबीच दीपेन्द्रले गाउँपालिकाको कार्यभार सम्हालेका हुन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएसँगै कार्यभार सम्हाल्दै दीपेन्द्रले बुलिङटार निर्माणका लागि आफूले कसम खाएको बताएका छन् ।
उनले सीमित समयमा असिमित समस्याहरु समाधान गर्ने जिम्मेवारी आफूलाई बुलिङटारबासी जनताले दिएकोले त्यसका लागि जवाफदेहिता, पारदर्शीता, इमान्दारी र कानुनी राज्य कायम गर्दै अगाडि बढ्ने प्रणसमेत गरेका छन् ।
उनले पदभार ग्रहण गरेसँगै अबको समय बुलिङटार निर्माणको लागि भएको बताउँदै ब्रह्म, विवेक र चेतनाले भ्याएसम्म बुलिङटारबासीका लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समय सिमित छ तर समस्या असिमित छन्। अबको समय बुलिङटार निर्माणको निम्ति बिताउने प्रण गरेको छु। मेरो ब्रह्म ,विवेक र चेतनाले भ्याइन्जेल बुलिङटारका जनताको पक्षमा काम गर्नेछु। जवाफदेहिता ,पारदर्शीता , इमानदारीता, सुशासन र कानुनी राज्य कायम गर्ने कुरामा कसम खाएको छु। म लगायत मेरो टिम तयार छ। हामि हिड्न तयार छौं , हामि दौडिन तयार छौं।’