

दमदार अभिनयसाथ सांगीतिक बजारमा ममताको आगमन

काठमाडौं । रोमान्टिक ‘माया केवल माया’ नामक गीतमा मोडलिङ गर्दै ममता चापागाईँले डेब्यु गरेकी छिन् । ममतालाई थुप्रै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेका नायक एवं मोडल श्रीदेव भट्टराईले साथ दिएका छन् ।
भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् । राम्रो टिमका साथै गीत र चलचित्रमा समेत काम गर्ने लक्ष्यका साथ मोडलिङ बजारमा डेब्यू गरेकी ममताको यी गीतको अभिनय हेर्दा पहिलो म्युजिक भिडियो जस्तो नलागेको उनीसँगै अभिनय गरेका भट्टराईले बताए ।
पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको यो गीतमा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन् ।

आफ्नो जन्मदिनको अवसर पारेर पुष्पाले कार्तिक ८ गते शनिवार साँझ आफ्नै युट्युब च्यानल DeePushpa Creations मार्फत मेल भर्सन सार्वजनिक गरेकी हुन् । गीतमा गोविन्द मधुर आचार्यको एरेन्ज छ । गीतलाई सन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । भिडियोका लागि श्रृंगार र केश विन्यास सपना लम्सालको छ भने अजय रेग्मीले खिचेका छन् । सन्तोष दवाडीले सम्पादन गरेको भिडियोको सहनिर्देशनमा युवराज दाहाल छन् भने निर्देशन हेम प्रभासले गरेका छन् ।