राजनीतिक पूर्वाग्रहका आधारमा अनर्गल प्रचार नगरियोस्ः नगरप्रमुख थापा



भक्तपुर । विकासका लागि नेपालकै नमूना नगरपालिका बन्ने तयारीमा रहेको सूर्यबिनायक नगरपालिकाले कार्यालय प्रयोजनका लागि अत्याधुनिक भवन निर्माण गरिरहेको छ । नगरपालिकाको वडा नं. ५ स्थित कटुन्जेमा निर्माण गर्न लागिएको भवन ६ रोपनी ११ आनाभन्दा बढी जग्गामा २० करोड ३४ लाख रुपैयाँमा निर्माण गर्न लागिएको नगरपालिका प्रमुख बासुदेव थापाले बताएका हुन् ।

दीर्घकालीन सोचका साथ दुईतला अन्डरग्राउन्ड पार्किङको व्यवस्थासहित निर्माण गर्न लागिएको उक्त भवनमा लिफ्ट र सभाहलको व्यवस्था हुने नगरप्रमुख थापाले जनाए ।

थापाले निर्माण कार्य सुरु भइसकेको अवस्थामा कोरोनाका कारण निर्धारित मितिमै सम्पन्न हुन नसक्ने बताए । देशभरिका स्थानीय तहको आफ्नै कार्यालय भवन हुनुपर्ने संघीय सरकारको अवधारणाअनुसार आफूहरुले पनि नगरपालिकालगायत नगरका १० वटै वडाका कार्यालय भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको थापाले बताए ।

नगरप्रमुख थापाले नगरपालिका भवन निर्माणका क्रममा राजनीतिक पूर्वाग्रहका साथ केही व्यक्तिहरुले अनर्गल प्रचार प्रसार गरेकोमा आपत्ति जनाए । उनले निर्माणस्थलबाट निस्किएको ढुंगा, माटो बेचेर आर्थिक लाभ लिएको भन्दै केही सञ्चारमाध्यममा प्रचारित समाचारमा सत्यता नभएको भन्दै त्यसको खण्डन समेत गरेका छन् ।

उनले उक्त स्थानमा निस्किएको कडा किसिमको माटो यही वडा र नगरपालिकाभित्रका सडक निर्माणमा प्रयोग गरिएको बताए । उक्त माटो वडाअध्यक्ष, वडा सदस्य र इन्जिनियरसँगको समन्वयमा मात्र प्रयोग गरिएको थापाले बताए ।

उक्त विषयमा केही व्यक्तिहरुले संघीय सांसद महेश बस्नेतलाई समेत मुछेर भ्रामक समाचार बनाएकामा आपत्ति जनाउँदै नगरप्रमुख थापाले भने, ‘संघीय सांसद यहाँ इन्भल्भ नै हुनुहुन्न, उहाँको यहाँ न हस्ताक्षर चल्छ, न केही चल्छ, अब चुनाव पनि नजिक आउन लाग्यो, त्यसका लागि प्रपोगन्डा रचेका हुन्, केही व्यक्तिहरु विरोध गर्नमात्र जन्मेका छन्, यस्ता भ्रामक हल्लाले मेरो हाइट झन् बढेको छ, यस्ता कुरामा केही सत्यता छैन ।’

संघीय सांसद बस्नेतको पहलमा भवनका लागि २ करोड, जिल्ला समन्वय समितिको ५ करोड बजेट रहेको उक्त भवनका लागि बाँकी बजेट नगरपालिकाको रहेको पनि थापाले जनाए ।  संघीय सांसद र नगरप्रमुखले ढुंगा माटो बेचेर खाए भन्नेहरुलाई चुनौती दिँदै थापाले त्यस्ता तथ्यहीन आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।

चुनाव नजिकिँदै जाँदा केही व्यक्तिले नगरपालिकाको विकास निर्माणका आयोजनामा प्रतिनिधिसभाका सांसद बस्नेतलाई जोड्नु भ्रामक तथा गैरजिम्मेवारीको पराकाष्टा भएको बताए । संघीय सांसद रहेको व्यक्तिलाई नगरपालिकाको आयोजनामा जोड्नु लज्जास्पद र हास्यास्पद भएको बताउँदै थापाले आफू लगायत संघीय सांसदलाई समेत जोडेर तथ्यहिन आरोप नलगाउन चेतावनी दिए ।

आफ्नो कार्यकालमै नगरपालिका भवन निर्माण गरेर आगामी जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको नगरपालिका भवन कोरोना महामारीका कारण केही ढिला निर्माण सम्पन्न हुनसक्ने बताउँदै थापाले आफूहरुले जतिसक्दो छिटो निर्माण अघि बढाउने पनि बताए ।