विकासका लागि विचार र पार्टी प्रधानता होइनः सांसद बस्नेत
काठमाडौं । एउटा सांसदको सीमा विधि निर्माणको तहमा हुन्छ भन्ने हेक्का भए पनि कतिपय व्यवाहारिक सन्दर्भले खरो उत्रिनुपर्ने अनुभव र अभ्यास गर्छन्, भक्तपुर–२ का प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका युवा नेता महेश बस्नेत ।
नेपालको राजनीतिक र सामाजिक भावलाई हुत्याएर विधि निर्माणमा मात्र केन्द्रित हुने सांसदले जनताको सामना गर्न कठिन हुन्छ भनेरै बस्नेतले आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन योगदान गरेका छन् । र, यहि नै व्यवाहारिक पाटो हो नेपाली समाजको ।
जनताले संविधानको धारा र आउने कानुनका विषयमा सांसदसँग गुनासो गर्दैनन् । जब क्षेत्रमा पुग्छ प्रतिनिधि उनीहरूको भावना खोला, पुलेसो, बाटोसँग नै जडित हुन्छन् ।
बस्नेत भन्छन्,‘जनप्रतिनिधिको हैसियतले स्थानीय तह वा विधायक होस् आम जनताको चाहना विकास र रुपान्तरणकै तहमा बुझिन्छ । हामीले सांसदको भूमिका विधि निर्माणमा सीमति हुनुपर्छ भने पनि निर्वाचनका बेलामा पुल, बाटो, कुलो खानेपानी भन्ने नै जनताको माग हुन्छ ।’
सांसद विधि निर्माणको बन्धक मात्र हुँदैन भन्ने उदाहरण बस्नेत आफैं हुन् । त्यसैले त कतिपय सांसदले भक्तपुरमा बस्नेतले गरेका विकासका सन्दर्भमा चासो राख्छन् ।
‘हामीले जानेर नजानेर जनतासँग प्रत्यक्ष जोडिने विकासको भावनाकै पक्षले निर्वाचन जितेका हुन्छौं । त्यो पूरा नगर्दा फेरि अर्को पटक जनतामा जाने आधार पनि हुँदैन । हामीले पनि अनुभूति गरेका छौं । तर परिवर्तन त अवश्य हुनुपर्छ’, जनताको विकासको भावनासँग जोडिनुपर्ने कारण खुलाउँदै बस्नेत सुनाउँछन्,‘समाज परिवर्तन गर्ने भनेको मानव सूचांकको डाटा सच्याउने नै हो । कुरा ठूला गर्ने काम नगर्ने, चर्चामा आउनका लागि मात्र कुरा गर्ने भन्ने प्रवित्ति छ । यसलाई चिर्न विकासकै कसीमा व्यवाहारिक अभ्यासमा उत्रिनुको विकल्प छैन । म त्यसैको परिक्षामा छु ।’
बस्नेतको विकास मन्त्र पनि छ । उद्योग मन्त्रीको जिम्मेवारी सम्हाल्दा उपल्लो तहको राज्य संयन्त्र बुझेका र सानो उमेरमा नै गाविस अध्यक्षमा निर्वाचित हुँदा तल्लो तहको भावनासँग जोडिएका बस्नेतले त्यसैले ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ भन्ने अवधारणाभित्रै एक्शन गर्छन् ।
तर्क वा संवादमा हैन, आँकडा र व्यवाहारमा नै बस्नेतको विकास मन्त्रले काम गरिरहेका छन् । यसका कयन उदाहरण छन् । ति मध्येका केही त अचम्मलाग्दो परिवर्तनका अंश भइसके ।
प्रतिनिधि सभामा भक्तपुर–२ बाट निर्वाचित बस्नेतको पहलमा एउटा पीडा बनेको हनुमन्तेको दुख अन्त्य भयो । हनुमन्ते करिडोरको डुबान । डुबिरहने एउटा पूरै बस्ती र जमिनलाई राहत दिलाउने काममा बस्नेतको भूमिका प्रमुख रहेको स्थानीय नै बताउँछन् । हनुमन्ते करिडोरको व्यवस्थापनका निम्ति बस्नेतले जोडबल गरी ३ अर्ब २० करोडको बजेटमा खोला व्यवस्थित गरिदिए ।
पहिला खोला ५ मिटरमा मात्र बग्थ्यो त्यसैले बर्षायाममा बस्ती डुबान हुनु स्वभाविक बन्यो । यो पीडाबाट निकाल्न सांसद बस्नेतको योगदान अतुलनिय बन्यो ।
विवरणअनुसार अधिकार सम्पन्न बागमती सभ्यता समितिमा बस्नेतले समस्या राखी समाधानका निम्ति पहल गरेका थिए । यसले लोकन्थलीदेखि राधेराधे भाटभटेनी र सल्लाघारीसम्मका जनताले राहतको अनुभूति गरेका छन् । यीनै क्षेत्रमा बस्नेतकै पहलमा ५ हजार रोपनी क्षेत्रको जमिनलाई व्यवस्थित र उपयोगयोग्यमात्र होइन, व्यवस्थित बस्तीको अवधारणालाई अघि सारिएको छ । यसको काम पनि अघि बढेको बताइन्छ ।
विकासयात्रामा बस्नेत नरोकिनुको अर्को उदाहरण पेप्सीकोला–सानोठिमीदेखि सल्लाघारीसम्मको सडक विस्तारको योजना पनि हो । ६६ करोडको बजेट उपत्यका सडक विस्तारबाट आफ्नै पहलमा बस्नेतले ल्याएका थिए ।
१७ हजार ८ सय रोपनी क्षेत्रमा गुन्डु–बालकोट क्षेत्रमा स्मार्टसिटीको काम अघि बढाउने प्रक्रिया थाल्नु बस्नेतको कौशलताको फरक उदाहरण हो । २२ अर्बको लगानी रहने उक्त स्मार्टसिटीका निम्ति २ करोड खर्च गरी डिपीआर पनि तयार भएको छ ।
सूर्यविनायकमा अन्तर्राष्ट्रिय चिडियाखानाको डिपिआर ८ करोडमा तयार भएको छ । बस्नेतकै पहलमा २४५ हेक्टर जमिनमा बन्ने यो चिडियाखानाले उनको क्षेत्रको मात्र होइन, मुलुककै परिचय स्थापिन गर्न सक्नेछ ।
शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा स–साना र ठूला आयोजनामा स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग पनि समन्वयकारी भूमिका निर्वाह गरी बस्नेत अगाडि बढेका एउटा सफल सांसद यसकारण पनि हुन् कि धुलिखेलदेखि सूर्यविनायकसम्मको सडकलाई ६ लेनको बनाउने बजेटमा पार्न सफल भए । यतिमात्र होइन, भक्तपुरको गट्ठाघरमा ५ हजार जना मानिस अटाउन सक्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७ अर्बको लगानीमा बन्ने तरखरमा छ जसको पहल बस्नेतले नै गरेका हुन् । कोटेश्वरको ट्राफिक जाम हटाउनेदेखि डेढ अर्बको खर्च शिक्षालगायतमा पनि गराउने भूमिकामा बस्नेत अगाडि देखिए ।
बस्नेतको पहलमा भएका अनेक काम छन् । उनी प्रशासकदेखि प्रहरीसम्म, वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म धाउने अनेक कारण भनेकै क्षेत्रका जनताले पाउनुपर्ने सुखको तिर्खा हो । ‘हामी निरन्तर राजनीतिमा सक्रिय हुनुपर्छ तर कसका लागि भन्ने प्रश्न हुन्छ । जनताको खुसी र सुखका लागि खट्नुपर्छ यहि मेरो मनमा रहन्छ’, उनी सुनाउँछन् ।
कतिपय अवस्थामा सरकारले गरेका राम्रा कुरा जनतामा गएका छैनन् भन्ने तर्कमा अडिन्छन् उनी । सरकारमा गलत सूचना पनि गएका छन् । समग्र कोणबाट सरकारले सूचना पाउन सकेको छैन भन्ने मानकले नै विकासमा पनि कतै ठेस लागिरहेको हो की भन्ने लाग्छ, बस्नेतलाई ।
‘विकासका लागि सरकारको बजेटमा रहेको रकम खर्च गर्न सकिन्छ । सांसदमार्फत हुने विकास खर्च पनि यहि मापनको आधार हो’, संसद विकास कोषको रकम खर्चबारेको प्रसंगमा उनी जोड्छन्,‘सबै खर्च गर्ने माध्यम स्थानीय तह हो । सांसदले समन्वय गरेर खर्च गर्न सके विकास हुन्छ, नसके हुँदैन । महेश बस्नेतले वडाध्यक्षसम्म पार्टी फरक भए पनि विकासका सवालमा समन्वय गर्नुहुन्छ भन्ने च चर्चा नै छ । र म गर्छु पनि । विकासका लागि विचार र पार्टी भन्ने हुँदैन ।’
सांसदसँग सरकारले दिएको नीजि सचिव बाहेक अर्को कुनै सहयोग हुँदैन । तैपनि बस्नेतसँग काम गर्ने शिल्पका अनेक तयारी छन् । १५–२० जनाको विशेषज्ञहरुको टिम छ । त्यसले समन्वय गरेको आधारमा काम हुन्छ । ‘लोगो लाएर माननीय भएपछि मान मर्यादा चाहिन्छ भन्ने सामन्तवादी अवशेषको स्थिति पनि छ । विद्यमान समस्याभित्र घुलमिल गरेको खण्डमा लोकप्रिय ढंगले स्थापित गर्न सकिन्छ । तर, हाम्रा सांसद साथीहरूले त्यसलाई बुझ्न र अभ्यास गर्न सक्नुपर्छ ।’