

महिला अधिकारविरूद्ध कडा रूपमा प्रस्तुत हुँदै तालिबान!
नजिकको पुरुष नातेदारबिना टाढाको यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन निर्देशन

काबुल । अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरुको मुल्य र मान्यता विपरित भएको बताएका छन् । आफूहरु महिला शिक्षाविरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरुलाई मान्य नभएको बताएका छन् ।
‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्न सक्नेछन् । महिलाहरुले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उनले भने । तर, छात्राहरुलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् ।
गत १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि छात्राहरुलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाहरुका विभिन्न हक अधिकार खोसिएका छन् । तालिवानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ती जनाएकी छिन् । ‘तालिवानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उनले भनिन् ।
यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नोतादार हुनुपर्ने तालिवानले जनाएको छ । पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिवानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।