

दोस्रोपटक नेपालको जर्सीमा देखिने भए पुबुदु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके दोस्रो पटक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ ।
पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–२० विश्वकप खेलेको थियो ।
गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । त्यसमध्ये क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा अघि थिए ।
तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो । नेपालले २०२२ को फेब्रुअरीमा टी(२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । प्रशिक्षक पुबुदको पहिलो काम ग्लोबल छनोट हुनेछ ।