

देउवालाई ७ पटक प्रधानमन्त्री हुन्छ भन्ने ज्योतिष भन्छन्, ‘महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहनेछ’

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर उद्घाटन समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले जानकारी दिएका छन् ।
रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सातपटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उदघाटन गर्न लागिएको छ ।
पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ । यो महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग रहेको रिजालले जानकारी दिए ।