एमाले अध्यक्षमा ओली निर्वाचित, को हुन् त दोस्रोपटक एमाले अध्यक्षमा निर्वाचित भएका ओली ?



काठमाडौं – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक विजयी भएका छन्। प्रतिस्पर्धी भीम रावललाई १६१६ मतले पछि पार्दै ओली एमालेको अध्यक्ष बनेका हुन्।

ओलीले १८४० मत पाएका छन् भने रावलले २२४ मत पाएका छन्। निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २१५३ मतदातामध्ये २ हजार ९२ मत खसेको थियो।

एमालेले १० औँ महाधिवेशनमा विद्धुतिय मतदानको प्रयोग गरेको थियो। बिहान २ बजेबाट मतदान सुरु भएको थियो।

नवौं महाधिवेशनमा तत्कालिन एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ४३ मतले हराउँदै ओली पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए।

त्यस्तै आठौं महाधिवशेनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका थिए ओली।

 

को हुन् ओली?

झण्डै पाँच दशकको राजनीतिक यात्रामा १४ बर्ष कठोर जेल जीवन विताएकाओली प्रष्ट विचार र अडान भएका नेता मानिन्छन्।

झण्डै पाँच दशकदेखि सक्रिय राजनीति गर्दै आएका ओलीको जन्म २००८ सालमा तेह्रथुमको तत्कालिन इवा गाविस–२ तीनसल्लेमा भएको हो।

तेह्रथुम इवाकै प्रणामी प्राविबाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा झापा झरेको थियो। डेढवर्षकै उमेरमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारका कारण ओलीको बाल्यकाल निकै कष्टपूर्ण थियो।

२०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए लगत्तै ओली पञ्चायती शासन बिरोधी आन्दोलनका सक्रिय भए। २०२८ सालको झापा आन्दोलनका अगुवामध्येका एक ओली त्यही वर्ष जेल पक्राउ परे।

पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सालसम्म लगातार १४ वर्ष जेल जीवन विताएका थिए।

२०२८ सालमा जिल्ला कमिटी सदस्य र २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बनेका ओली २०४४ सालमा जेलबाट छुटेपछि तत्कालिन मालेको केन्द्रीय कमिटी सदस्य भए।

२०४८ सालदेखि एमालेको स्थायी कमिटी सदस्य रहेका ओली २०७१ सालको असारमा भएको नवौं महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित भएका थिए।

२०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा झापा–६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा भने झापा–७ बाट पराजित भए।

उनी २०५१ सालमा गृहमन्त्री र २०६४ सालमा उपप्रधान एवं परराष्ट्रमन्त्री थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि एमाले संसदीय दलका नेता चुनिएका ओली पहिलो पटक २०७२ असोज २४ गते मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका थिए।

पहिलोपटक प्रधानमन्त्री रहेकै बेला भारतीय नाकाबन्दीको चर्को आलोचना गरेपछि ‘राष्ट्रवादी’ छवी बनाएका थिए ओलीले। त्यही छवीले दोस्रोपटक समेत उनले सरकारको नेतृत्व गर्ने अवसर पाए।

२०७४ सालको मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा झापा–७ बाट निर्वाचित भएपछि माओवादी केन्द्रको समर्थनमा ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए।

विचार, भावना, दृष्टिकोण, मान्यता अत्यन्तै प्रभावकारी तथा सशक्त रूपमा अभिव्यक्ति गर्ने अपार क्षमता रहेका ओली उखानटुक्का प्रयोग गरेर व्यंग्यवाण प्रहार गर्न पनि खप्पिस छन्।

विपक्षीलेसमेत उनलाई प्रष्ट र वैचारिक अडान भएका नेता मान्छन्। तर, पार्टीमा लामो समय संस्थापन इतर धारको अगुवाई गरेका कारण मूल नेतृत्वमा आउँदा पनि ओलीमाथि गुटगत राजनीति गरेको आरोप लाग्दै आएको छ।