एमाले महाधिवेशनः आज रातैभर एमाले अध्यक्षका लागि मतदान हुँदै, भीम रावलद्वारा उम्मेदवारी दर्ता



चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज रातैभर मतदान हुने भएको छ ।

महाधिवेशन निर्वाचन आयोगका अनुसार सोमवार बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू भइसकेको छ । यससँगै नेता भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले संशोधन सहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतवार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरी नयाँ तालिका प्रकाशित गरिएको थियो ।

पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । बिहान ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ ।

बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिउँसो १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान शुरू हुनेछ । मतदानको समय मंगलवार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मंगलबार बिहानबाट मतगणना सुरू हुने जनाइएको छ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतवार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका छन् । उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

एमाले नेता भीम रावल र घनश्याम भुसाल निर्वाचनको पक्षमा छन् । उनीहरूले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन् ।