गणेशमान सिंह राष्ट्रिय टेनिसः आरभ र सलोनीलाई उपाधी



काठमाडाैं । आरभ सम्राट हाडा पुरुष तर्फ र सलोनी तामाङ्ग महिला तर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी उचाल्न सफल भएका छन् ।

आरभरले मंगलबार सम्पन्न फाईनल खेलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोईरालालाई ६–३, ६–४ ले पराजित गदै उपाधी उचालेका हुन् ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुष युगल तर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले बाजी मारे । उक्त जोडीले अकि जुवेन राउत र निहाल जंग बहादुर थापाको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै जित हात पारे ।

३५ बर्ष माथिको पुरुष युगल तर्फको खेलमा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडीले उपाधी उचाले । उक्त जोडीले निरज थापा र लोक गुरुङ्गको जोडीलाई ६–४, १–६ र १०–८ को कठिन जित निकाले ।

सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना भएको प्रतियोगिताको ४५ बर्ष माथिको पुरुष एकलमा सिजर गुुरुङ्गलाई पछि पार्दै विमल कुमार गुरुङ्गले उपाधी उचाले । विमलले सिजर माथि ६–१, ६–१ को समान अन्तरले पराजित गरे । यस्तै युगल तर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी माथि ६–२, ६–३ ले जित निकाल्दै उपाधीमा आफ्नो नाम लेखाए ।

५५ बर्ष माथीको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापा र छम्ब धोन्दुपको जोडीले कृष्ण राज घले र सुवर्ण धाख्वाको जोडीलाई ६–८, ६–१ र १०–८ ले पराजित गर्दै उपाधी उचाले ।

करिव २० लाख लागत रहेको प्रतियोगितामा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ बर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ बर्ष माथि एकल तर्फका शिर्ष तीनले ३०, १५ र ५, युगल तर्फ २०, १०, १० हजार, ५५ बर्ष माथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ बर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गरे ।

यस्तै जुनियर विधामा विजयी खेलाडीहरु गिफ्ट ह्याम्परबाट पुरस्कृत भए । बिजयी खेलाडीहरुलाई नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका थिए ।