

राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाप्रस्थान

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए।
कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।
घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, , गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उनका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ ।
अल्पायुमै पत्नी गौरीको निधन भएपछि उनले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गरे जुन उनको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उनले महाकाली घिमिरेसंँग विवाह गरे ।
उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्ने जनाइएको छ ।