

फिफा वरीयतामा नेपालको सुधार

काठमाडाैं – फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो ।
यसअघि नेपाल १७१औँ स्थानमा थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरीयता सार्वजनिक हुँदा नेपालको अङ्क ९ सय ६८ थियो । अहिलेको नयाँ वरीयतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ ।
नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छ । भारत १०५औँ स्थानमा छ भने माल्दिभ्स १५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छ ।
बङ्गलादेश १८८औँ स्थानमा छ भने भूटान १८७औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औँ स्थानमा रहँदा श्रीलङ्का २०५औँ स्थानमा छ । बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ ।
त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।