

अफगानिस्तान सरकारद्वारा तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव

काबुल – अफगानिस्तान सरकारले देशमा जारी हिंसा अन्त्यका लागि तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको छ । कतारस्थित सरकारी वार्ता टोली स्रोतका अनुसार हिंसा अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि अफगान्स्तिान सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको एएफपीले जनाएको छ ।
एक सरकारी अधिकारीले भने, ‘सरकारले कतारको मध्यस्थतामा तालिवान समूहलाई एक प्रस्ताव पेस गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न र शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ ।’
यसैबीच रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी सहर पनि लडाकूले नियन्त्रणमा लिएका छन् । यो क्षेत्र राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्छ ।
योसँगै तालिबान लडाकूले अफगानिस्तानमा अहिलेसम्म ३४ मध्ये १० प्रान्तका राजधानीमा कब्जा जमाएका छन् । सरकारले अफगानिस्तानको सेना अहिले पनि तालिबानले कब्जामा लिएको भनिएका क्षेत्रमा रहेको दाबी गर्दै आएको छ ।
तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरू सहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी राखेको छ । एजेन्सी