

परिवारका सदस्यजस्तै गरी २० वर्ष पालेकाे कुखुराको भाले मरेपछि दाहसंस्कार

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले २० वर्षदेखि पाल्दै आएकाे कुखुराकाे भाले मरेपछि दाहसंस्कार गरिएकाे छ ।
आफूले १९ वर्ष १० महिनासम्म पालेको भाले मरेपछि सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेका हुन् । भालेलाई परिवारका सदस्यजस्तै मानेर पालेको र गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गरिएको सुवेदीले बताए।
२०/२५ जना मलामीको सहभागितामा गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरिएको उनले बताए । हिन्दु परम्परा अनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, ती सबै विधि अपनाएर भालेलाई पनि अन्त्येष्टि गरिएको सुवेदीले बताए । भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएको, नुन छोडेको, सेतो कपडा समेत लगाएका छन् ।