

म अहिले नै मन्त्रीमण्डलमा जाँदिनः कांग्रेस महामन्त्री डा. कोइराला

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू मन्त्रीमण्डलमा सहभागी नहुने बताएका छन् । चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले आफू तत्काल मन्त्रीमण्डलमा सहभागी नभई सरकारलाई बाहिरैबाट सहयोग गर्ने बताएका छन् ।
उक्त अवसरमा कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् ।क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।
कोइरालाले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भने । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनले जानकारी दिए ।
उनले भने, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’