

सर्वोच्चमा प्रचण्डको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं – नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्याकेट निवेदन दर्ता गराएका छन् ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।
पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष दाहाल अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका हुन् । दाहालको भ्याकेट निवेदनमाथि आज आनन्दमोहन भट्टराई, बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुँदैछ ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए । उनीहरु सबैलाई अदालतले पुनर्वहाली गरेकाले सो अन्तरिम आदेश खारेजीका लागि दाहालले भ्याकेट निवेदन दिएका हुन् ।