

बाढी प्रभावित इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालन
डेढ महिनामा पाँच करोड ५० लाख घाटा

सिन्धुपाल्चोक – गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।
मेलम्ची खोलाको बाढीले ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पुर्याएको विद्युत गृहको संरचनाको मर्मतपछि बुधबार रातिदेखि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक श्रेष्ठले जानकारी दिए । इन्द्रावतीमा आएको बाढीले तिपेनीस्थित बाँध भत्काउनुका साथै सिभिल कार्य तथा इलेक्ट्रिक मेसिनमा ठूलो क्षति पुगेको थियो ।
बाढीले बालुवा थिग्राउने डिसेल्टिङ मेसिनको ढोका र अन्डर प्रेसको ढोकामा समेत क्षति पुगेकाले टावर तथा अन्य कार्यमा करिब रु दुई करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको छ । डेढ महिनासम्म आयोजना उत्पादन बन्द हुँदा पाँच करोड ५० लाख नोक्सान भएको डेपुटी प्लान्ट मेनेजर वसन्तलाल कर्णले जानकारी दिए ।