

भारतमा बढ्न थाल्यो कोरोना संक्रमण

नयाँ दिल्ली – भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६६ जनामा कोरोना संक्रमण पाइएको छ । २४ घण्टाभित्र कोरोना संक्रमणबाट ६४१ जनाको मृत्यु भएको छ भने ४१ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।
भारतको केरलमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । मंगलबार सो राज्यमा २२ हजार १२९ संक्रमित थपिएका छन्। केरलमा एकै दिनमा यति धेरै संक्रमित भएको दुई महिना यताकै पहिलो पटक हो । यसअघि गत मे २९ मा केरलमा एकै दिन २३ हजार ५१३ जना संक्रमित पाइएका थिए ।
भारतमा अहिलेसम्म ३ करोड १४ लाखभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ३ करोड ६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना संक्रमणबाट ४ लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पश्चिम बंगाल, हिमाचल प्रदेश, झारखण्ड, ओडिशा, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरी राज्यमा अहिले पनि पूर्ण लकडाउनसरहको प्रतिबन्ध लगाइएको छ । यस्तै २३ राज्य तथा केन्द्र शासित प्रदेशमा भने आंशिक लकडाउन लगाइएको छ ।