केन्द्रीय कमिटीले माग्यो यी २२ सांसदसँग २४ घन्टे स्पष्टीकरण, रावललाई राजीनामा फिर्ता लिन ओलीको अनुरोध



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

ललितपुरको च्यासलमा बसेको १० औं केन्द्रीय कमिटी बैठकले कार्यदलले दिएको सुझावअनुसार पार्टी अगाडि बढाउन थालेको हो।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

 बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका उपाध्यक्ष भिम रावललाई फिर्ता लिन आग्रह गरेका छन्। देउवालाई विश्वासको मत दिनु पर्दैन, पार्टी एकीकरण गरौं भनेर रावलले राखेको प्रस्तावलाई नमानी नेता माधवकुमार नेपालले उल्टै हप्काएर पठाएको बताउँदै ओलीले बैठकमा भने,‘हामीले कार्यदलको सुझाव मान्यौं। तर माधव नेपाल मान्दिन, जेसुकै गर भन्ने तालले हिँडे।’