

यी–यी सांसदको मतका साथ देउवाले लिँदैछन् विश्वासको मत !

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको पाँचौं दिनमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन् । एक महिनाको समयावधि बाँकी रहेको अवस्थामा देउवा जतिसक्दो छिटो देश विकासका साथै कोरोना महामारीबाट लड्नका साथै देश र जनताप्रति उत्तरदायी हुने हिसाबले पाँचौ दिनमा नै विश्वासको मत लिएर अगाडि बढ्ने सोचका साथ अघि बढेका देखिन्छन् ।
नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षसहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले सम्मिलित गठबन्धनका सबैले उनका पक्षमा मतदानका साथ स्पष्ट बहुमतका साथ विश्वासको मत लिने अभियानमा लागेका देउवालाई विश्वासको मतका लागि १३६ मतको आवश्यक पर्ने देखिन्छ ।
प्रतिनिधि सभामा जम्मा २७५ सिट रहेकोमा ४ जनाको रिक्त रहेको छ भने ४ जना सांसद निलम्बित भएका छन् । २७१ जनाको गणना हुनेमा १३६ मत ल्याए विश्वासको मत लिन सकिने अवस्था रहेको छ ।
सो अनुरुप नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, माधव नेपाल पक्षका २३, जसपा यादव पक्षका १७, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र १ गरी १५१ मतको भारी बहुमत प्राप्त गर्ने अड्कल गरिएको छ ।
नेकपा माओवादी केन्द्रका ५३ सांसद मध्ये लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद नरहेकोले मतदानमा सहभागी बन्न पाउने छैनन् । त्यस्तै सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मात्र मत दिन पाउने भएकाले माओवादीबाट ४८ मत पाउने देखिएको छ ।
जनता समाजवादी पार्टीको ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा थप ५ सांसद अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षबाट यादव पक्षमा समाहित भएपछि १७ सांसद पुगेका छन्।त्यस्तै राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले पनि देउवालाई मत दिनेछिन्।
एमालेले मत नदिने घोषणा गरे पनि माधव पक्षको २३ जनाले बाहेक देउवाको पक्षमा १२८ मत पुग्नेछ, त्यसपछि माधव पक्षका कम्तीमा ८ जना सदस्यले मात्रै देउवालाई मत दिए पनि देउवाले विश्वासको मत पाउने देखिएको छ । यसअघि नै माधव पक्षले देउवालाई मत दिनका लागि कुनै बैठकै बस्नु नपर्ने, स्वतः विश्वासको मत दिने घोषणा गरेकोले देउवाले स्पष्ट बहुमतका साथ विश्वासको मत लिने अनुमान गरिएको छ ।