

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुुर देउवाले आजै (आइतबार) विश्वासको मत लिने भएका छन् । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
सोही व्यवस्था बमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ ।
सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी हुन् । गत जेठमा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् । तर अहिले उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुने छन् ।
देउवा सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले अब उनी विश्वासको मत लिन असफल भए उनैले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ । तर आन्तरिक विवादका बाबजुद एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ ।
प्रतिनिधि सभामा बहुमत सांसदबाट विश्वासको मत पाए भने देउवाले प्रतिनिधि सभाको पूरा कार्यकाल (५ वर्षको बाँकी) भरि नियमित सरकारको नेतृत्व गर्न पाउने छन् ।