

प्रधानमन्त्री देउवाको व्यस्ततापछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज (बिहीबार) दिउँसोका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । ‘आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सरेको छ । भोलि दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको व्यस्थताका कारण बैठक स्थगित भएको हो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी थियो । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क-कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ ।
मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन देउवालाई कठिन हुने देखिएको छ । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै क-कसलाई मन्त्री बनाउने टुंगो लगाउने बचन दिएका थिए । सबै पक्षलाई समेटेर मन्त्री बनाउनु पर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न उनलाई सहज छैन ।
यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूची रहेको थियो । कांग्रेसले भदौ १६-१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।