

चट्याङ लागेर बाबुको मृत्यु, छोरी र नातिनी घाइते

खोटाङ – चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङ बजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा चट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका हुन् ।