कोरोना संक्रमणका कारण विश्वभर २ सय नेपालीको मृत्यु, ४८ हजार भन्दा धेरै संक्रमित
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विश्वभर २ सय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा जानकारी दिइएअनुसार यस साता विदेशमा १६ नेपालीको मृत्यु भएसँगै विदेशमा मात्र ज्यान गुमाउनेको संख्या १ सय ६० पुगेको हो । त्यसै गरी नेपालमा हालसम्म ४० जनाको मृत्यु भएकोले नेपाल र बाँकी विश्वमा गरी २ सय नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ ।
समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । त्यसैगरी नेपालमा हालसम्म १७ हजार भन्दा बण्ी संक्रमित भएसँगै हालसम्म विश्वरभका ४८ हजार भन्दा बढी नेपाली संक्रमित भएका छन ।
गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ ।
यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।