तीनदिनदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध, हजारौं यात्रुको बिचल्ली
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएको छ । उक्त सडक खण्ड अन्तर्गतको तल्लो डुम्रे नजिकै शुक्रबार खसेको पहिरोका कारण तेस्रो दिनसम्म पनि सडक अवरुद्ध छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो शनिबार दिनभर दुईवटा एक्साभेटर प्रयोग गरेर काम गर्दा पनि पन्छाउन सकिएन । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरो ५० प्रतिशत मात्र पन्छाएर सकिएको र आइतबार वर्षा नभए साँझसम्म सडक खुल्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
उक्त स्थानमा एक हप्तादेखि खसिरहेको पहिरो शुक्रबार राति ठूलो मात्रामा खस्दा पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । शनिबार पहिरो पन्छाएर ट्रक निकालिएको छ । सडकमा दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ ।