

भारी वर्षाका कारण भारतमा घर भत्किँदा ९ जनाको मृत्यु, धेरै पुरिएको आशंका

नयाँदिल्ली – भारतको मुम्बईमा बुधबार राति भारी वर्षाका कारण एक आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ। अन्य मानिस पुरिएको आशंकामा उद्धार प्रयास जारी छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मलाड पश्चिम क्षेत्रमा बुधबार राति करिब ११ बजेतिर आवासीय चारतले भवन भत्किएको हो । बृहन मुम्बई नगरपालिकाका अनुसार मलाडको कलेक्टर कम्पाउण्डमा घर भत्किँदा अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।
डीसीपी साउथ जोन विशाल ठाकुरका अनुसार अहिलेसम्म महिला तथा बच्चा गरी १५ जनाको उद्धार गरिसकिएको छ । भवनले अरू मानिस पनि थिचिएको आशंकामा उद्धार जारी छ । आसपासका अन्य ३ भवनको अवस्था पनि जोखिमपूर्ण भएकाले त्यहाँका मानिसलाई अन्यत्र सार्ने क्रम चलिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी