

अपोलो–११ अन्तरिक्ष यात्री माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन

काठमाडौं – मानव जातिलाई चन्द्रमामा पुर्याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए ।
क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका र उनका सहयोगी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए । अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो ।
कोलिन्सको निधनपछि अब एपोलो–११ मिसनको एकमात्र जीवित क्रू सदस्य बज एल्ड्रिन छन् । उनी ९१ वर्षका छन् । एल्ड्रिनले कोलिन्सलाई श्रद्धाञ्जली दिँदै ट्विटरमा लेखेका छन्, ‘प्रिय माइक, तपाईँ जहाँ रहे पनि तपाईँको ऊर्जाले हामीलाई सधैँ भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ ।’
एपोलो(११ का कमान्डर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति उनै आर्मस्ट्रङ्ग थिए । बीबीसी