

वैशाखभर चितवनमा पनि जारी भयो निषेधाज्ञा

चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने भएको छ ।
बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनमा वैशाख १६ गते रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना (कोभिड-१९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको बताए । उनले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताए ।
चितवनमा आजसम्म कोरोना भाइरस (कोभिड-१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् ।