

एक हजार दरका चार सय १५ थान नक्कली नोटसहित तीन जना पक्राउ

सुनसरी – प्रहरीले नक्कली नोटसहित सुनसरीमा तीन जनालाई पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका– ४ मा स्थित स्टार होटल अगाडिबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका–२ का २४ वर्षीय नजिम साफी र धरान उपमहानगरपालिका–१७ का महेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरूको साथबाट नक्कली नेपाली नोट एक हजार दरका चार सय १५ थान बरामद गरेको हो । नक्कली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको छ ।