

राष्ट्रिय यु-१९ टोली र चौधरी ग्रुपबीच पाँच वर्षको लागि प्रायोजन सम्झौता

काठमाडौं – नेपाली राष्ट्रिय १९ वर्ष मुनि (यू-१९) को क्रिकेट टोलीलाई चौधरी ग्रुपकाे वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यहाँ आयोजित एक कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक रु ७० लाख उपलब्ध गराउने छ । हरेक दुई वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ ।
यस सम्झौतासँगै अब नेपाली यू –१९ क्रिकेट टोलीको नाम वाइवाई यू–१९ क्रिकेट टोली रहनेछ । कार्यक्रममा चौधरी गु्रुपका प्रबन्ध निर्देशक चौधरीले आफनो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
त्यस्तै क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग बिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताए ।