म्यान्मार सेनाले गोली चलाउँदा ‘दर्जनौँ मानिसको मृत्यु’



बगाे – म्यान्मारको बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा दमन गरिँदा ८० जना भन्दा बढी मानिसको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्।

मृतकहरूको शव सेनाले लिएर गएको बताइएको छ र ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या कहिल्यै थाहा नहुन सक्छ। प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन्।

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

‘मृतकको सङ्ख्या धेरै हुन सक्ने’

सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिन्छ। म्यान्मारको मुख्य सहर यान्गुन नजिकैको बगो सहरमा शुक्रवार ठूलो हिंसा भएको बताइएको छ।

तर त्यो घटना बाहिर आउन पूरै दिन लाग्यो किनभने धेरै बासिन्दालाई नजिकैको गाउँमा जान बाध्य पारिएको थियो। पर्यवेक्षण गर्ने एउटा कारी समूह असिस्टन्स अशोसीएशन फर पलिटिकल प्रिजनर्स (एएपीपी) ले ज्यान गुमाउने मानसिको सङ्ख्या त्योभन्दा धेरै हुन सक्ने देखिएको जनाएको छ।

द म्यान्मार नाउ पत्रिकाले प्रदर्शन आयोजकहरूलाई उद्धृत गर्दै लेखेको छ : ‘यो नरसंहारजस्तै छ। उनीहरूले जहीँतहीँ बन्दुक चलाएका छन्।’ सेनाले सत्ता हातमा लिएयता म्यान्मारभरि विरोधप्रदर्शनहरू हुँदै आएका छन्। सैन्य कूसँगै देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको छ।

राष्ट्र सङ्घलाई आह्वान
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सू ची र उनको न्याश्नल लीग फर डिमोक्रसी पार्टी निर्वाचित भएको थियो। निर्वाचन आयोगले भने उक्त दाबी खारेज गरिदिएको थियो।

पदबाट निष्काशित सांसदहरू र म्यान्मारको संयुक्त राष्ट्रसङ्घका लागि राजदूतले शुक्रवार सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू विस्तार गर्न र हतियारमाथि रोक लगाउन र उडान नहुने क्षेत्र बनाउन आह्वान गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको बैठकलाई म्यान्मार ‘विफलताको सँघारमा रहेको’ चेतावनी पनि दिइएको थियो। इन्टरन्याश्नल क्राइसिस ग्रूपका वरिष्ठ सल्लाहकार रिचर्ड होर्सीले सेनाको कदमले देशलाई शासन गर्नै नसकिने अवस्थामा पुग्न सक्ने बताएका छन्। बीबीसी