

मेयर र अध्यक्ष कप प्रतियोगिता हुने

फुङ्लिङ – फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । गाउँपालिकाका आठ वडामा आठ खेलाडीले सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजारका साथ रनिङ कप, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुने टोलीलाई २० हजार र सान्त्वना पुरस्कारवापत १० हजार प्रदान गर्ने उनले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, उदयीमान खेलाडीलाई तीन हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजारले पुरस्कृत प्रदान गर्ने पालिकाले जनाएको छ । वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा २५ हजारका दरले रकम उपलब्ध गराइने जनाइएको छ ।
यही १३ देखि १५ चैतसम्म फुङ्लिङमा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फुङ्लिङ उपप्रमुखले बमबहादुर भट्टराईले प्रतियोगिताका विजेताले दुई लाख २१ हजार १०० का साथ रनिङ कप पाउने जानकारी दिए । उपविजेता टोलीले एक लाख ११ हजार १०० का साथ कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजारसहित कप प्रदान गरिने छ ।